नेपालबाट बाहिरियो यस वर्षको मनसुन
यस वर्षको मनसुनमा सबै प्रकारका विपद्बाट २३२ जनाको ज्यान गएको छ । मनसुन अवधिमा १ हजार ४५६ वटा विपद्का घटना भएका छन्
काठमाडौं– यस वर्षको मनसुन बिदा भएको जल तथा मौसम विभागले बताएको छ ।मनसुन सुरु हुनुअघि ठूलो वर्षा हुने र ठूूलो जनसंख्या प्रभावित हुने अनुमान गरिए पनि मनसुन पूर्वानुमानभन्दा कमजोर रहँदा प्राकृतिक विपद्बाट अनुमानभन्दा कम क्षति पुगेको छ ।
विभागले यस वर्ष नेपालमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरेको थियो ।
मनसुन सकिने समयसम्म पनि नेपालको पश्चिम भेगमा मनसुन सक्रिय हुन सकेन । मनसुन अन्त्य हुने सम्भावित समय १६ असोज थियो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेलले भने, ‘त्यसको भोलिपल्ट १७ असोजमा बल्ल नेपालको पश्चिम भेगमा मनसुन सक्रिय भयो, पश्चिमी भेगको क्षति बिर्सने हो भने यो वर्षको मनसुन विगतभन्दा सुखद रह्यो ।’
त्यस समय मनसुन पश्चिम नेपालमा सक्रिय बन्यो । मनसुन बाहिरिने मितिपछि भएको बेमौसमी वर्षाले मनसुन अवधिमा भएभन्दा बढी मानवीय क्षति यसपालि पश्चिम नेपालमा भएको दाबी उनले गरे । २२ जेठमा पूर्वी भू–भाग हुँदै नेपाल भित्रिएको मनसुन अनुमानित मितिभन्दा १४ दिनपछि ३० असोजमा सम्पूर्ण रूपमा बाहिरिएको थियो ।
विभागले दक्षिण एसियाली जलवायु विश्लेषण मञ्च (सास्कोफ) र नेपालको जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको यस वर्ष सरदरभन्दा बढी वर्षा हुन्छ भन्ने मनसुनी विश्लेषणअनुसार गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायतका सरोकारवाला निकायले उच्च तयारी गरेका थिए ।सोहीअनुसार मनसुन पूर्वतयारी प्रतिकार्य योजना, २०७९ मा २० लाखभन्दा बढी मानिस विभिन्न खालका विपद्बाट प्रभावित हुने अनुमान गरिएको थियो ।
पोखरेलले थपे, ‘तर पूर्वानुमान नमिल्दा हाम्रो तयारी धेरै कार्यान्वयन गर्नुपरेन । दसैंको समय मात्र अलिक बढी तनावपूर्ण रह्यो ।’
उनका अनुसार दसैंमा कर्णाली र सुदूूरपश्चिमका जिल्लामा पहिरोले अकल्पनीय क्षति हुनुमा पहिरोको पूर्वानुमान गर्न कठिनाइ भएकाले हो ।
मौसम पूर्वानुमान महाशाखाको पूर्वसूचनाले महत्वपूर्ण भूमिका खेलेको गृह मन्त्रालयस्थित विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाले बताए । कोसीको बाढीले उदयपुरको बेलका नगरपालिकाको बस्ती डुबाउनु, दाङ, बर्दिया, कञ्चनपुरमा डुबान हुनुबाहेक अन्य ठूला घटना बाढीले यस वर्षको मनसुनमा निम्त्याएन । उनले भने, ‘तयारी देशैभरका लागि उच्च थियो, त्यति हुँदा पनि पहिरोले पछिल्लो समय बढी क्षति भयो ।’
विभागले यस वर्षको मनसुनी पूर्वानुमानका विषयमा थप विचार र विश्लेषण गरिनुपर्ने जनाएको छ । दक्षिण एसियाली जलवायु विश्लेषण मञ्चले गरेको सोझो अनुमान मात्रको भर नपरी थप अध्ययन र अन्य मोडल प्रयोगबारेमा विभागले आगामी दिनमा सोच्नुपर्ने अवस्था यस पटकको मौसमी अवस्थाले देखाएको वरिष्ठ मौसमविद् विभूति पोखरेलले बताए ।
यस वर्षको मनसुनमा सबै प्रकारका विपद्बाट २३२ जनाको ज्यान गएको छ । मनसुन अवधिमा १ हजार ४५६ वटा विपद्का घटना भएका छन् । विभिन्न विपद्मा परेर ३३ जना अझै बेपत्ता छन् भने ४६७ जना घाइते भएका थिए । विपद्का कारण प्रत्यक्ष रूपमा १ हजार ९५९ घरपरिवार प्रभावित बनेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।







