बढ्न थाल्यो चिसो
काठमाडौं उपत्यकामा सोमबारयता चिसो बढ्न थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका हुन्
काठमाडौं– मौसम विज्ञान विभागले सोमबारदेखि काठमाडौं उपत्यकामा चिसो बढ्न थालेको बताएको छ । अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन तर बिस्तारै चिसो बढ्ने क्रममा छ । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।
काठमाडौं उपत्यकामा सोमबारयता चिसो बढ्न थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका हुन् ।
मौसमविद हिरा भट्टराईका अनुसार अब क्रमिक रुपमा चिसो बढ्दै जानेछ । तापक्रम कम हुने क्रम सुरु भएकाले चिसो बढ्दै जाने उनले बताए ।‘बिहान बेलुकाको तापक्रम हिजोबाट घट्न थालेको छ । घाम लाग्ने भएकाले दिउँसो खासै चिसो नभए पनि बिहान र बेलुकाको तापक्रम कम भएकाले चिसो अनुभव हुन थालेको छ’, उनले भने ।
उनले केही पश्चिमी वायुहरू सक्रिय भइरहेकाले उनीहरूले चिसो लिएर आउने जानकारी दिए । ‘केही पश्चिमी वायु सक्रिय छन्, चिसो पनि उनीहरूले नै लिएर आउने भएकाले यस्तो भएको हो’, भट्टराईले भने, ‘अब बिस्तारै चिसो बढ्दै जानेछ ।’हाल जुम्लाको तापक्रम ४ डिग्री सेल्सियस छ भने जिरीको ५.७ र जोमसोमको तापक्रम ६ डिग्री सेल्सिय रहेको छ । यस्तै काठमाडौं उपत्यकाको तापक्रम १२.२ डिग्री सेल्सियस रहेको छ ।







