मतदाता शिक्षालाई विस्तार गर्दै आयोग
मतदातालाई सुसूचित बनाउन मतदाता शिक्षालाई गाउँतहसम्म लैजाने आयोगको तयारी
काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित मतदाता शिक्षालाई व्यापक बनाउने भएको छ ।
शुक्रबार आयोगको मुख्यालय बहादुर भवनमा मतदाता शिक्षाका लागि आयोजित ‘मुख्य प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम उद्घाटन गर्दै निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले प्रशिक्षण प्राप्त गरेपछि प्रशिक्षार्थीले मतदातामा व्यापक जागरण ल्याउन भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।
उनले भनिन्, ‘निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउन जनशक्तिको भूमिका महत्त्वपूर्ण हुन्छ ।’उनले मतदातालाई सुसूचित बनाउने आयोगको जिम्मेवारी पूरा गर्दै जनस्तरसम्म मतदाता शिक्षालाई लैजानुपर्ने आवश्यकता औंल्याइन् ।आयोगका सचिव गोकर्णमणि दुवाडीले मतदातालाई मतदान केन्द्रसम्म ल्याएर बढीभन्दा बढी मतदान गराउन र बढीभन्दा बढी सदर मत गराउन प्रशिक्षण कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गरे ।







