पाल्पामा मनपरी गाडी भाडा असुलेको गुनासोपछि समायोजन गरियो भाडा
पाल्पाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख र तानसेन नगरपालिकाका प्रमुखलाई वडा कार्यालयले जनगुनासो सम्बोधन गरिदिन अनुरोध गरेपछि भाडा समायोजन गरिएको हो।
पाल्पा– पाल्पामा सार्वजनिक सवारीसाधनले मनपरी भाडा लिएको स्थानीयको गुनासो बढेपछि भाडा समायोजन गरिएको छ ।
पाल्पाको तानसेन नगरपालिकामा २ सय बढी उपभोक्ताले भाडाका सवारी साधनले यात्रुलाई ठगी गरेको उजुरी दिएपछि सर्वपक्षीय सरोकारवालाको बैठक राखेर भाडा समायोजन गरिएको तानसेन–९ का वडाअध्यक्ष राजेशकुमार अर्यालले बताए ।
भाडाका सार्वजनिक सवारी साधनको भाडा दर महँगो भएको गुनासोसहितको ध्यानाकर्षण पत्रका सम्बन्धमा पाल्पाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख र तानसेन नगरपालिकाका प्रमुखलाई वडा कार्यालयले जनगुनासो सम्बोधन गरिदिन अनुरोध गरेपछि भाडा समायोजन गरिएको हो ।
जिल्ला समन्वय समिति प्रमुखको अध्यक्षतामा बसेको बैठकले पाल्पा जिल्ला तथा अन्य जिल्लासँग जोडिएका सडकमा सञ्चालन हुने यातायातमा तानसेन–बुटवल प्रतिकिमि ४ रुपैयाँ, तानसेन–रामपुर ४.५ रुपैयाँ, तानसेन–रिडी ५.३०, तानसेन–रानीमहल ५.३० रुपैयाँ तोकी प्रदेशमा सोहीअनुसारको सिफारिस गरिएको जिल्ला समन्वय समिति प्रमुख टंक अर्यालले बताए ।
तानसेन–झडेवा ६.३३, तानसेन–हार्थोक ६.३५, तानसेन–दर्लम ६.१३ रुपैयाँ प्रतिकिलोमिटरको दरले लिने गरी भाडा समायोजन गरिएको छ । यस्तै, कच्ची सडकमा प्रतिकिलोमिटर १२ रुपैयाँको दरले लाग्ने र नगर क्षेत्रमा ४ किमिसम्म अधिकतम ३० रुपैयाँ भाडा लिन पाइनेछ ।
तानसेन नगरपालिकामा दर्ता भई सञ्चालित अटो रिक्सा टेम्पोले बाँसटारीबाट प्रतियात्रु न्यूनतम १ किमिसम्म २५ रुपैयाँ र थप प्रतिकिमि १० का दरले थप रकम लिने गरी भाडा समायोजन गरिएको छ । तोकिएभन्दा बढी भाडा लिने सवारी साधनलाई तत्कालै कारबाही गरिने पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।







