प्रत्यक्षतर्फ ५७ राजनीतिक दलको उम्मेदवारी दर्ता
प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ २ हजार २९१ पुरुष र २३५ महिला गरी २ हजार ५२६ को उम्मेदवारी परेको हो
काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएको बताएको छ । ती दलले १ हजार ४३३ पुरुष र १५० महिला उम्मेदवार उठाएका छन् ।
आयोगको सार्वजनिक तथ्यांकअनुसार ८५८ पुरुष र ८५ महिला गरी ९४३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ २ हजार २९१ पुरुष र २३५ महिला गरी २ हजार ५२६ को उम्मेदवारी परेको छ ।
प्रत्यक्षतर्फ प्रदेश १ मा ५४८ जनाले उम्मेदवारी दिएका छन् । ४९३ पुरुष र ५५ महिलाले उम्मेदवारी दिएको आयोगले जनाएको छ । प्रदेश १ मा ३० दल र स्वतन्त्रले उम्मेदवारी दिएका छन्।
मधेस प्रदेशमा प्रत्यक्षतर्फ १ हजार ५५ जनाको उम्मेदवारी परेको छ । ९७८ पुरुष, ७६ महिला र अन्यमा एक जनाले उम्मेदवारी दिएका छन् । मधेस प्रदेशमा ३७ दल र स्वतन्त्रले उम्मेदवारी दिएका छन् ।
बागमती प्रदेशमा ३२ दल र स्वतन्त्रले गरी प्रत्यक्षतर्फ ७०१ जनाको उम्मेदवारी परेको छ । यीमध्ये पुरुष ६१९ र महिला ८२ छन् ।गण्डकी प्रदेशमा २३ दल र स्वतन्त्र गरी प्रत्यक्षतर्फ २७१ जनाको उम्मेदवारी परेको छ । यीमध्ये पुरुष २३७ र महिला ३४ जना छन् ।
लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ २५ राजनीतिक दल र स्वतन्त्र गरी ५३२ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा ५०० पुरुष र ३२ महिला छन् ।
कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ १६ राजनीतिक दल र स्वतन्त्र गरी १४३ जनाको उम्मेदवारी परेको छ । यीमध्ये १३९ पुरुष र ४ महिलाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ २० राजनीतिक दल र स्वतन्त्र गरी २२६ जनाको उम्मेदवारी परेको छ । यीमध्ये २१२ पुरुष र १४ महिलाको उम्मेदवारी परेको हो । यो तथ्यांक सोमबार साँझसम्म आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा सार्वजनिक गरिएको आयोगले बताएको छ ।







