उम्मेदवारलाई १८ प्रतिबद्धतामा हस्ताक्षर अनिवार्य
आयोगले तयार पारेको निर्देशिकामा मनोनयनसँगै स्वघोषणापत्रमा पनि हस्ताक्षर गर्नुपर्ने उल्लेख छ
काठमाडौं– निर्वाचन आयोगले आगामी आइतबार हुने मनोनयन दर्ताका बेला उम्मेदवारले १८ प्रतिबद्धतामा अनिवार्य हस्ताक्षर गर्नुपर्ने प्रावधान अगाडि सारेको छ ।
आयोगले तयार पारेको निर्देशिकामा मनोनयनसँगै स्वघोषणापत्रमा पनि हस्ताक्षर गर्नुपर्ने उल्लेख छ ।
उम्मेदवारले मनोनयन पत्रका साथमा नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको प्रतिबद्धता जनाउनुपर्नेछ। आयोगले उम्मेदवारलाई नै आफू ‘२५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुँ’ भनी घोषणा गर्न लगाएको छ ।
मतदाता नामावलीमा उम्मेदवारको नाम समावेश भएको हुनुपर्ने, उम्मेदवार हुने व्यक्ति कुनै संघीय कानुनले अयोग्य नभएको सुनिश्चितता हुनुपर्ने, तीनै तहको सरकार र उनीहरुको स्वामित्व वा नियन्त्रणमा रहेका निकायबाट पारिश्रमिक पाउने गरी पदमा बहाल नभएको सुनिश्चित हुनुपर्ने आयोगले उल्लेख गरेको छ ।
यस्तै, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको हुनुपर्नेछ ।
मनोनयन पत्र दर्ता गर्ने व्यक्ति प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन र निर्वाचन आयोग ऐनअनुसार योग्य भएको हुनुपर्नेछ। उम्मेदवारले आफू प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको बन्दसूचीमा नरहेको पनि स्वघोषणा गर्नुपर्नेछ ।
प्रत्यक्षतर्फ मनोनयनपत्र दर्ता गर्ने उम्मेदवारले आफूले अन्य क्षेत्रमा उम्मेदवारी नदिएको घोषणा गर्नुपर्नेछ ।
आयोगले उम्मेदवारहरुलाई ‘कुनै पनि सरकारी निकायलाई जिन्सी वा नगद बुझाउन बाँकी नरहेको’ पनि घोषणा गर्न लगाएको छ। सरकारी पेस्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको हुनुपर्ने पनि उल्लेख छ ।
विदेशको स्थायी आवासीय अनुमतिपत्र नलिएको स्वघोषणा गर्नुपर्नेछ । उम्मेदवारले मनोनयन पत्रका साथमा सिलबन्दी रुपमा सम्पत्ति विवरणसमेत बुझाउनुपर्नेछ ।
सम्पत्ति विवरण सार्वजनिक गर्न मञ्जुर भएको भन्दै मनोनयनकर्ताले स्वीकार्नुपर्ने सर्त राखिएको छ। उम्मेदवारलाई कैद सजाय वा जरिमाना तोकिएको भए त्यो पनि चुक्ता हुनुपर्नेछ ।
कुनै सरकारी निकायलाई बुझाउनुपर्ने कर, राजस्व, शुल्क, दस्तुर बाँकी भए त्योसमेत चुक्ता गर्नुपर्ने भनिएको छ ।
‘निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिबद्ध रहेको हुनुपर्नेछ’, आयोगले सार्वजनिक गरेको विवरण पत्रमा भनिएको छ, ‘नेपालको संविधान, कानुन र निर्वाचन ऐन नियमभित्र रही निर्वाचनमा भाग लिन प्रतिबद्ध रहेको हुनुपर्नेछ ।’







