दसैं मनाउन १७ लाखले छाडे काठमाडौं
फूलपातीसम्म झन्डै १७ लाख दसैं मनाउन आ–आफ्नो घर फर्किएका हुन्
काठमाडौं– काठमाडौं उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन् । यो महिनाको सुरुदेखि फूलपातीसम्म झन्डै १७ लाख दसैं मनाउन आ–आफ्नो घर फर्किएका हुन् ।
विगत दुई वर्ष कोभिडका कारण दसैं मनाउन काठमाडौं उपत्यका बाहिर जानेको संख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो । उपत्यकाबाट बाहिरका जिल्लामा जाने सबैभन्दा बढी नागरिकले सार्वजनिक यातायात प्रयोग गरिरहेको राष्ट्रिय यातायात व्यवसायी महासंघ नेपालका अध्यक्ष विजय स्वाँरले बताए ।
अहिलेसम्म १७ लाख हाराहारी नागरिकले उपत्यका छाडेका छन् भने विजयादशमीको दिनसम्ममा अझै २ लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ ।
‘विभिन्न कारणले जान नपाएकाहरू पनि भोलि र पर्सिसम्म जानुहुन्छ,’ उनले भने ।
विगतका वर्ष जस्तै यो वर्ष पनि सवारी साधनमा तोकिएभन्दा बढी भाडा लिने, एउटै सिटमा दुई जनाको टिकट काट्ने, टिकट काट्दाको भन्दा फरक सिटमा राख्नेलगायत समस्या यात्रुले भोगिरहेका छन् ।
कतिपय यात्रुले पहिले नै टिकट नकाटेर बीच बाटोबाटै गाडी चढ्दा बढी भाडा लिएको हुन सक्ने अध्यक्ष स्वाँरले बताए ।
सवारी साधनले सामान्य अवस्थामा प्रतिस्पर्धा हुँदा तोकिएभन्दा कम भाडामा समेत यात्रु बोक्ने भए पनि अहिले तोकिएको लिइरहेको उनको भनाइ छ ।
काठमाडौंबाट मात्रै होइन, उपत्यका बाहिरका क्षेत्रीय सहर र जिल्ला सदरमुकामबाट पनि धेरै यात्रु आ–आफ्नो घर जाने गरेका छन् ।
कतिपय यात्रु काठमाडौं बाहिरबाट उपत्यका भित्रने भए पनि त्यो संख्या कम रहेको महासंघले जनाएको छ । आमनागरिकले उपत्यकाबाट सबै बस भरिएर गएको देखे पनि फर्किएर आउँदा खालीजस्तै हुने उनले बताए ।
सबै क्षेत्रले यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा दिएर त्यसपछि मात्रै निजी र मालवाहक सवारी साधनलाई दिनुपर्ने महासंघले सरकारसमक्ष माग गर्दै आएको थियो ।
शनिबारदेखि नै अति आवश्यक पर्ने सामान ल्याउनेबाहेक अठार र बीस चक्के सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
विभागले १५ देखि २२ असोजसम्म नारायणगढबाट काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ ।
दसैं, तिहार, छठसँगै निर्वाचनमा जाने यात्रुहरू यो अवधिमा बाहिरिने महासंघले जनाएको छ । यो वर्ष दसैं चाँडो परेकाले देशभरका धेरै सडकमा खाल्डाखुल्डी र पहिरो हटिसकेको छैन । दसैंलाई लक्षित गरी भदौदेखि नै मर्मत सुरु गरिए पनि वर्षा अझै पूर्ण रूपमा हटिनसकेकाले सबैतिरको सडक मर्मत गर्न कठिन भएको सडक विभागले जनाएको छ ।







