प्रतिनिधिसभामा ४८ र प्रदेशसभातर्फ १३६ दलले बुझाए आयोगमा बन्दसूची
असोज ३ सम्म बन्दसूची बुझाउन समय तोकिएकामा दलहरुले आयोगमा उम्मेदवारसहितको सूची बुझाएका हुन्।
काठमाडौं– ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने काम मंगलबार बिहान ५ बजेसम्म जारी राखिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले दलहरूलाई प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार दुई दिन समय दिएको थियो । तर पहिलो दिन आइतबार दुई दलले मात्रै उम्मेदवारको बन्दसूची बुझाएका थिए ।पहिलो दिन अपेक्षित रुपमा दलहरूले बन्दसूची नबुझाएपछि आयोगले गए राती पनि काम जारी राख्यो । आयोग परिसरमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयले उम्मेदवारको बन्दसूची लिने काम मंगलबार बिहान मात्रै सकिएको बताएको छ ।
प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचनमा भाग लिन ६८ वटा दलले निवेदन दिएकामा ४८ वटा दलले मात्रै मंगलबार बिहानसम्म बन्दसूची बुझाएका छन् । अब बन्दसूची बुझाउन पाइने छैन ।
प्रदेशसभातर्फ समानुपातिकमा प्रदेश नम्बर १ मा ३६ वटा दलले उम्मेदवारको बन्दसूची बुझाएका छन्। मधेस प्रदेशमा भने ३६ दलले उम्मेदवारको सूची बुझाएका छन् ।
यस्तै, बागमतीमा ४०, गण्डकीमा ३१, लुम्बिनीमा ३२, कर्णालीमा २८ र सुदूरपश्चिम प्रदेशमा ३४ दलले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेस गरेका छन्।
अधिकांश दलहरूले प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० जना उम्मेदवारको नाम पेस गरेका छन् ।आयोगले अब ९ असोजससम्म दलहरूलाई उम्मेदवारको बन्दसूची संशोधन गर्न समय दिनेछ । १०–१६ असोजसम्म संशोधन गरी उम्मेदवार सूची पेस गर्न समय दिइनेछ ।







