सुरु भयो निर्वाचन प्रक्रिया
निर्वाचन आयोगमा आइतबारदेखि समानुपातिकको बन्दसूची पेस गरिँदै
काठमाडौं– आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रक्रिया आइतबारदेखि सुरु भएको छ ।शनिबार मध्यराती १२ बजेदेखि पाँच वर्षे कार्यकाल सकिएपछि आइतबार २ असोजबाट निर्वाचन प्रक्रिया सुरु भएको हो ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार आइतबार राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची पेस गर्नुपर्नेछ ।आयोगले २–३ असोजभित्र बन्दसूची बुझाइसक्नुपर्ने कार्यसूची सार्वजनिक गरेको छ ।
आगामी निर्वाचन संघीय संसद्मा समानुपातिक निर्वाचन प्रणालीबाट ११० र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना निर्वाचित हुनेछन् ।
निर्वाचित हुने सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिने गरी दलहरूले बन्दसूची तयार पार्नुपर्छ । त्यसमा ५० प्रतिशत महिला र समावेशी प्रतिनिधित्व अनिवार्य गरिएको आयोगले जनाएको छ ।
बन्दसूची सच्याउने म्याद आयोगले आगामी १६ असोजसम्म तोकेको छ ।प्रतिनिधिसभामा समानुपातिक सूची बुझाउन चाहने दलले कम्तीमा ११ जना उम्मेदवारको सूची बुझाउनुपर्ने आयोगले बताएको छ । बढीमा ११० जनासम्म बन्दसूचीमा नाम राख्न पाइनेछ ।
बन्दसूची कानुनले तोकेअनुसारको भए÷नभएको चेक गर्ने अवधि ४ देखि ९ असोजसम्म तोकिएको छ । यो अवधिमा आयोगले जाँचबुझ गरेपछि १० देखि १६ असोजसम्म दलहरूले बन्दसूची सच्याउनुपर्नेछ ।
प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम भने २३ असोजदेखि सुरु हुने कार्यतालिकामा उल्लेख छ ।







