सर्वसम्मत भए राष्ट्रिय सभाका विषयगत चार समितिका सभापति
बुधबार उम्मेदवारी मनोनयन दर्ताको तालिका रहेकामा चार सभापतिमा एक÷एक जनाको मात्रै उम्मेदवारी परेको हो।
काठमाडौं– राष्ट्रिय सभाका विषयगत चार समितिका सभापति सर्वसम्मत निर्वाचित भएका छन् । सभापतिका लागि २३ भदौ बिहीबार निर्वाचन गर्ने कार्यतालिका छ ।
यसका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ताको तालिका थियो । तालिकाअनुसार चार सभापतिमा एक÷एक जनाको मात्रै उम्मेदवारी परेको छ ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका महासचिवसमेत रहेका वेदुराम भुसालले उम्मेदवारी दिएका छन् । राष्ट्रिय सरोकार समितिको सभापतिमा एमालेकी पार्वती रावल (दिलकुमारी) को उम्मेदवारी परेको छ । यसअघि पनि उनी सभापति थिइन् ।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्माको उम्मेदवारी परेको छ ।
यसअघि यो समितिको सभापतिमा रामनारायण बिडारी थिए । उनी १९ फागुन २०७८ मा कार्यकाल सकिएर बिदा भएपछि रिक्त रहेको सभापति पदमा माओवादी केन्द्रका शर्माले उम्मेदवारी दिएका हुन् ।
दिगो विकास तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका प्रकाश पन्थको उम्मेदवारी परेको छ । राष्ट्रिय सभाका विषयगत समितिका सभापति पद कार्यकाल सकिएर २१ फागुन २०७८ मा कार्यकाल बिदा भएका थिए ।
रिक्त राष्ट्रिय सभा सदस्य पदमा १२ माघ २०७८ मै नयाँ सदस्य निर्वाचित भएका थिए । ५९ सदस्यीय राष्ट्रिय सभा सदस्यका लागि प्रत्येक दुई÷दुई वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुन्छ ।







