प्रहरीले सेनासँग माग्यो एक हजार पेस्तोल
नेपाल प्रहरीले निर्वाचन सकिएपछि फिर्ता दिने सर्तमा नेपाली सेनासँग एक हजार पेस्तोल माग गरेको हो।
काठमाडौं– नेपाल प्रहरीले निर्वाचन सुरक्षाका लागि नेपाली सेनासँग एक हजार थान पेस्तोल माग गरेको छ। नेपाली सेनालाई पत्र पठाउँदै प्रहरी प्रधान कार्यालयले एक हजार थान पेस्तोल मागेको हो।हरेक मतदान केन्द्रमा जुनियर अधिकृतका लागि साना हतियार (पेस्तोल) आवश्यक पर्ने भए पनि प्रहरीसँग अपुग भएपछि सेनासँग सापटी मागिएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।
यसअघि स्थानीय तहको निर्वाचनमा पनि प्रहरीले सेनासँगै माग गरेर काम चलाएको थियो । त्यतिबेला पनि प्रहरीले एक हजार वटा पेस्तोल सेनाका चलाएको थियो । निर्वाचन सकिएसँगै हतियार सेनालाई नै फिर्ता गरिएको थियो ।
यस पटक पनि चुनावपछि फिर्ता गर्ने गरी प्रहरीले माग गरेको हो । नेपाल प्रहरीले पेस्तोलसहितका अत्यावश्यक गोलीगट्ठा खरिद गर्ने तयारी गरे पनि विवाद भएपछि रोकिएको छ ।
अहिले प्रहरीसँग कतिपय हतियारका गोली सकिएका छन् । भीड नियन्त्रणका लागि आवश्यक अश्रुग्यासलगायत विस्फोटक पदार्थको म्याद सकिएको छ ।







