राष्ट्रिय सभाबाट पारित भयो कारागार विधेयक
५० प्रतिशत कैद भुक्तान गरिसकेका र आचरण, व्यवहार सुधारेका कैदीको कैद मिनाहा गर्ने पक्षमा सरकार
काठमाडौं– राष्ट्रिय सभाबाट कारागार विधेयक, २०७६ पारित भएको छ । मंगलबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको कारागार विधेयक, २०७९ पारित गरेको हो ।
बैठकमा विधेयकमाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले ५० प्रतिशत कैद भुक्तान गरिसकेका र आचरण, व्यवहार सुधारेका कैदीको कैद मिनाहा गर्ने पक्षमा सरकार रहेको बताए ।
उनले कारागारमा पनि संरचनाले धान्नेभन्दा बढी बन्दी रहेको उल्लेख गर्दै आचरण सुधारेकालाई बाहिर निकाल्न पाए कारागारमा सहजता हुने जानकारी दिए ।
जन्मकैदको सजाय, तेजाब आक्रमण, जबर्जस्ती करणी, मानव बेचबिखन, भ्रष्टाचार, अपहरण, लागूऔषधको ओसार पसार, सम्पत्ति शुद्धीकरण, संगठित अपराधलगायत २० भन्दा बढी प्रकारको मुद्दामा भने कैद मिनाहा गर्न नमिल्ने उनको भनाइ छ ।उनले भने, ‘आचरण र व्यवहार सुधारेका बन्दीलाई ५० प्रतिशत उनीहरूले कैद भुक्तान गरिसकेपछि मिनाहा गर्ने अवसर मिलोस् भन्नेमा हामीहरू छौं ।’ विधेयकलाई प्रतिनिधि सभाले यसअघि पारित गरिसकेको छ ।







