एमाले कार्यकर्तालाई आउँदो चुनावमा धाँधली भए प्रतिवादमा उत्रिन ओलीको निर्देशन
आउँदो चुनावमा एमालेको बहुमत आउने अध्यक्ष ओलीको दाबी
काठमाडौं– नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले आगामी ४ मंसिरको चुनावमा सरकारले धाँधलीको प्रयत्न गरे प्रतिवादमा उत्रिन नेता÷कार्यकर्तालाई निर्देशन दिएका छन् ।
शनिबार सुनसरीको दुहवीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रहरी प्रशासनको बलमा सरकारले चुनावमा धाँधली गर्न सक्ने हुँदा नेता÷कार्यकर्ताले त्यसलाई विफल पारिदिनुपर्ने बताए ।
सुनसरी क्षेत्र नम्बर ३ बाट कांग्रेस नेता विजयकुमार गच्छदारसँग पराजित एमाले नेतृ भगवती चौधरीको प्रसंग अगाडि सार्दै अध्यक्ष ओलीले चुनावमा धाँधली भए एमाले कार्यकर्ता त्यसको प्रतिवादमा उत्रिन तयार रहनुपर्ने धारणा राखे ।
यसअघि दुई पटकसम्म नेकपा एमालेले जितेको उक्त क्षेत्र प्रहरी प्रशासन लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर र बाकस साटेर हार घोषणा गराइएको बताए ।
अध्यक्ष ओलीले भने, ‘यसभन्दा अगाडि दुई पटक भगवती चौधरीले जितेको क्षेत्र हो, यो। तर हार घोषणा गराइएको छ । प्रहरी प्रशासन लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर, बाकस साटेर हार घोषणा गराइएको छ। म प्रशासन, प्रहरीका अधिकृत र सबै तहका साथीलाई त्यसो नगर्न आग्रह गर्छु ।’
आउँदो चुनावमा एमालेको बहुमत आउने ठोकुवा गर्दै अध्यक्ष ओलीले देश, जनता, लोकतन्त्र, राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रताले हार्न नहुने बताए।







