मतपत्र छपाइ स्थलमा खटाइयो सेना
निर्वाचन आयोगले सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छाप्ने भएपछि सेना खटाइएको हो।
काठमाडौं– ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनार्थ मतपत्र छपाइ स्थलको सुरक्षाका लागि नेपाली सेनालाई खटाइएको छ ।
निर्वाचन आयोगले सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छाप्ने भएपछि त्यहाँ सेनाले सुरक्षाको जिम्मा लिएको हो ।
मतपत्र छपाइ स्थलको सुरक्षामा सैनिक टोली खटाइएको नेपाली सेनाका प्रवक्ता (सहायक रथी) नारायण सिलवालले बताए । उनले भने, ‘मतपत्र छपाइ सुरक्षास्थलमा सेनाको टिमले जिम्मेवारी लिइसकेको छ ।’
सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा भैरवनाथ गणबाट सैनिक परिचालन गरिएको छ । मतपत्र छपाइ स्थल सुरक्षामा ७ नम्बर वाहिनीका लक्ष्मण खत्रीलाई लियाजन अफिसर तोकिएको छ । निर्वाचन अवधिमा महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षा तयारी पनि सेनाले गरिरहेको छ ।
त्यस्तै, निर्वाचनमा आवश्यक सवारी साधन र बजेटबारे छलफल भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।







