आउँदो निर्वाचनमा खटिँदै साढे २ लाख बढी कर्मचारी
आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान केन्द्रको संख्या करिब २३ हजार ७०० हुने आयोगको अनुमान
काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने संघीय तथा प्रदेशसभा चुनावमा करिब २ लाख ४६ हजार कर्मचारी परिचालित गरिने बताएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान केन्द्रको संख्यामा निर्भर भए पनि करिब २ लाख ४६ हजार ९६० जनशक्ति आवश्यक पर्ने बताए ।
आयोगका अनुसार निर्वाचनमा आवश्यक पर्नेमध्ये करिब ९८ प्रतिशत कर्मचारीलाई मतदान केन्द्रमा खटाइनेछ ।आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान केन्द्रको संख्या करिब २३ हजार ७०० हुने अनुमान आयोगको छ । स्थानीय चुनावमा २१ हजार ९५५ मतदान केन्द्र तोकिएको थियो ।
प्रवक्ता पौडेलले भने, ‘मतदान केन्द्र पुनरवलोकन भई बढ्ने सम्भावना रहेकाले सोही अनुपातमा जनशक्ति थपिनेछन् ।’
आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा ११ जना जनशक्ति रहनेछन् । मतदान केन्द्रमा ८ कर्मचारी र ३ स्वयंसेवक राखिनेछन् ।
स्थानीय तह चुनावमा महानगर, नगरपालिका र गाउँपालिकाअनुसार मतदान केन्द्रमा खटिने कर्मचारीको संख्या ५ देखि ८ जनासम्म थियो । उक्त चुनावमा निर्वाचन अधिकृतको कार्यालय ७५३ र मतगणनासमेत प्रत्येक पालिकामा भएकाले कर्मचारी संख्या १ लाख ९,०८८ थियो भने करिब ६५ हजार स्वयंसेवक परिचालित भएका थिए ।
तर, आगामी चुनावमा १६५ निर्वाचन क्षेत्र मात्रै रहेकाले सोही संख्यामा निर्वाचन अधिकृतको कार्यालय रहनेछन् ।मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा १,४८५ कर्मचारी नियुक्त हुनेछन् ।
आयोगको केन्द्रीय कार्यालयसहित प्रदेश र जिल्लास्थित कार्यालयमा एक हजार जनशक्ति आवश्यक हुने बताइएको छ । केन्द्रीय कार्यालयमा काजमा आउने तथा प्रदेश र जिल्लाका कर्मचारीसहित सचिवालयमा १००० कर्मचारी रहने प्रवक्ता पौडेलले बताए ।
आयोगले मतगणनाका लागि २,४७५ जना कर्मचारी आवश्यक हुने जनाएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीमा प्रतिनिधिसभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० वटा क्षेत्र छन् ।







