निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिँदै समिति
विभिन्न व्यक्ति र संस्थाले दिएका उजुरीलाई आधार मानेर जबरासँग बयान लिइँदै
काठमाडौं– महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बुधबार बयान लिँदै छ ।
बिहान ११ बजेका लागि बोलाइएको सिफारिस समितिको बैठकले जबरालाई उपस्थित गराएर बयान लिने निर्णय गर्नेछ ।
बयान लिने भएपछि समितिले यसअघि नै प्रमाण संकलन गरेको छ । सार्वजनिक सूचना जारी गरी प्रमाण माग गरेपछि समितिलाई नेपाल बार एसोसिएसनले ३४ वटा प्रमाण बुझाइसकेको छ ।
समिति सचिवालयका अनुसार विभिन्न व्यक्ति र संस्था गरी १० ठाउँबाट प्रमाण प्राप्त भएका छन् ।
महाभियोग सिफारिस समितिका अनुसार जबराविरुद्ध प्रमाणको ठूलो सूची तयार भएको छ । विभिन्न व्यक्ति र संस्थाले दिएका र समिति आफैंले संकलन गरेका प्रमाणमा मुख्यगरी जबराको आचरणमाथि प्रश्न उठाइएका छन् । सोही आधारमा जबरालाई प्रश्न सोध्ने तयारी समितिको छ ।







