प्राधिकरणले सञ्चालनमा ल्यायो रत्नपार्कमा विद्युतीय चार्जिङ स्टेसन
चार्जिङ स्टेसनका लागि सिभिल पूर्वाधार निर्माणको काम सम्पन्न भएपछि जडान थालिएको हो
काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले मुख्यालय रत्नपार्कमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ ।
मंगलबारदेखि देशका विभिन्न भागमा चार्जिङ राख्ने कार्यक्रमअन्तर्गत ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले प्राधिकरण्को रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा स्थापना भएको चार्जिङ स्टेसन उद्घाटन गरेकी हुन् ।
प्राधिकरणको चार्जिङ स्टेसन पूर्वाधार विकास आयोजनाका अनुसार पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेसन धमाधम जडान भइरहेका छन् । चार्जिङ स्टेसनका लागि सिभिल पूर्वाधार निर्माणको काम सम्पन्न भएपछि जडान थालिएको हो ।
केही समयभित्रै ५१ वटै स्थानमा चार्जिङ स्टेसन जोडिसक्ने प्राधिकरणको लक्ष्य छ । प्राधिकरणले देशभरका राजमार्ग र मुख्य सहरका बसपार्क, सार्वजनिक जग्गालगायत स्थानमा चार्जिङ स्टेसन जडान गर्दै छ ।
प्राधिकरणले बिर्तामोड, दमक, विराटनगर, इटहरी, बेलाका, सुनसरी बसपार्क, लाहान, बर्दिबास र सिन्धुलीमाडीमा चार्जिङ स्टेसन स्थापना गर्नेछ । खुर्कोट, बनेपा, पथलैया, हेटौंडा, चितवन, मुग्लिन, धार्के, पोखरा, बर्दघाट, बुटवाल, भैरहवा, चन्द्रौटा, लमही, कोहलपुर, लम्की, अत्तरिया, महेन्द्रनगर र सुर्खेतमा चार्जिङ स्टेसन राखिनेछन् ।
काठमाडौंको साझा पुल्चोक, साझा बल्खु, हल्चोक र त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि चार्जिङ स्टेसन जोड्ने प्राधिकरणको लक्ष्य छ ।







