समानुपातिकतर्फ भाग लिन ६८ दलको निवेदन
आयोगले निर्वाचनमा भाग लिन १० देखि १२ भदौसम्म समय दिएकामा उक्त अवधिभित्र ६८ दलले निवेदन दिएका हुन्।
काठमाडौं– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ भाग लिन ६८ दलले निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले निर्वाचनमा भाग लिन १० देखि १२ भदौसम्म समय दिएकामा उक्त अवधिभित्र ६८ दलले निवेदन दिएका हुन् ।प्रतिनिधिसभा प्रत्यक्षतर्फ भाग लिन आयोगमा यसअघि ७६ दल दर्ता भएका थिए । तीमध्ये ७ दलले समानुपातिकतर्फ प्रतिस्पर्धामा भाग नलिने भएका छन् ।
यी दलका निवेदन हेरेर अन्तिम नामावली प्रकाशनपछि समानुपातिकतर्फ भाग लिने दललाई १५ भदौमा आयोगले निर्वाचन चिन्ह दिनेछ ।
प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फ प्रदेश १ मा ५५ दल र मधेस प्रदेशमा ५९ दलले निवेदन दिएका छन् ।
बागमतीमा ५८, गण्डकीमा ५२, लुम्बिनीमा ५४, कर्णालीमा ४९ र सुदूरपश्चिममा ५० दलले समानुपातिकतर्फ भाग लिन निवेदन दिएको आयोगले बताएको छ ।







