निर्वाचनमा उम्मेदवार छनोट गर्न एमालेले बनायो मापदण्ड
उम्मेदवारको सिफारिस प्रक्रिया र छनोट मापदण्ड एमालेले टुंगो लगाएको हो।
काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि उम्मेदवार छनोट गर्न मापदण्ड बनाएको छ ।
च्यासलस्थित एमाले मुख्यालयमा बसेको बैठकले उम्मेदवार छान्न मापदण्ड तय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।
सरकारले ४ मंसिरमा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घोषणा गरेको छ । त्यसका लागि उम्मेदवारको सिफारिस प्रक्रिया र छनोट मापदण्ड एमालेले टुंगो लगाएको हो ।
जिल्लाको सम्बन्धित प्रतिनिधि निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले प्रतिनिधिसभाको उम्मेदवार सिफारिस गर्ने निर्णय कमिटीले गरेको छ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेकाले जिल्ला कमिटीको बैठकबाट उम्मेदवार सिफारिस गर्ने निर्णय भएको गुरुङको भनाइ छ ।
यस्तै, प्रदेशसभा सदस्यको उम्मेदवारको सिफारिस पनि सोही सम्बन्धित निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले गर्ने उनले बताए ।
त्यस्तै, सो सिफारिसमा जिल्ला कमिटी र प्रदेश कमिटीले आफ्नो अन्य सुझाव भए सोसमेत उल्लेख गरी सिफारिस गर्न भनिएको छ ।
सिफारिस गरिएका उम्मेदवारको अन्तिम निर्णय भने केन्द्रले गर्नेछ ।
‘प्रत्येक निर्वाचन क्षेत्रबाट तोकिएका मापदण्ड पूरा गरेका कम्तीमा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्नेछ,’ उनले भने, ‘सिफारिस, सिफारिस मात्रै हो । अन्तिम निर्णय होइन । निर्णय नभएसम्म सिफारिसमा परेका कुनै पनि व्यक्तिले आफ्नो उम्मेदवारी पक्का भएजस्तो गर्न मिल्दैन ।’
यस्तै, समानुपातिकतर्फको उम्मेदवारीका लागि प्रस्ताव पठाउँदा सन्तुलन, समावेशिता र अवसरको न्यायोचितसमेतलाई ध्यानमा राखेर सम्बन्धित जिल्ला कमिटी बैठकबाट सिफारिस गरिनेछ ।
त्यस सिफारिसमा सम्बन्धित प्रदेश कमिटीले आफ्नो अन्य राय भए सो उल्लेख गरी सिफारिस गर्न भनिएको छ । सिफारिस गर्ने अन्तिम समय २२ भदौसम्म कायम गरिएको छ ।
पार्टीको नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीविरुद्धको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशिता, निर्वाचन कानुनबमोजिमको योग्यता पूरा भएको हुनुपर्ने मापदण्ड बनाइएको गुरुङले बताए ।
बैठकले राजनीतिक प्रतिवेदनमाथि ९ समूहमा छलफल गरी पारित गरेको छ ।







