४ मंसिरको चुनावमा खटाइँदै कर्मचारी र शिक्षक
काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निजामती कर्मचारी र शिक्षकलाई खटाइने निर्णय गरेको छ ।यसअघि पनि चुनावमा कर्मचारी र शिक्षक खटिँदै आएका थिए ।आयोगले बिहीबार आवश्यक कर्मचारी व्यवस्थापन गर्न सरकारलाई निर्देशनसमेत दिएको छ ।रिक्त दरबन्दीमा २० भदौभित्र कर्मचारी पठाइसक्न पनि आयोगले निर्देशन दिएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको निर्देशनपत्रमा २० भदौसम्म रिक्त दरबन्दीमा अनिवार्य कर्मचारी पदस्थापना गर्न भनिएको छ ।निर्वाचन प्रयोजनका लागि संघीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय तहको स्थायी कर्मचारी वा स्थायी शिक्षकलाई अनिवार्य खटाउनुपर्ने भएकाले त्यसअनुसार रिक्त दरबन्दीमा कर्मचारी÷शिक्षक पठाउन आयोगले निर्देशन दिएको हो ।
यस्तै, अन्यत्र काजमा खटाइएका कर्मचारी भए उनीहरूलाई आफ्नो दरबन्दीमा फिर्ता गर्न आयोगले भनेको छ । २० भदौपछि चुनाव सम्पन्न नहुँदासम्म कर्मचारी सरुवा नगर्न पनि आयोगले आग्रह गरेको छ ।







