राजनीति / देश
Tuesday, 26 Jul, 2022
सिद्धबाबालाई अपशब्द प्रयोग गरेको भन्दै एकजना महिलालाई प्रहरीले लियो नियन्त्रणमा
अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्ण गिरीलाई अपशब्द प्रयोग गरेको भन्दै एकजना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।पशुपतिनाथ मन्दिर परिसरमा महायज्ञ लगाइरहेका सिद्धबाबाको महायज्ञमा नाराबाजी गरेपछि प्रहरीले रोशनी शाहीलाई नियन्त्रणमा लिएको हो।
उनलाई प्रहरी वृत्त गौशाला लगिएको थियो। मंगलबार महायज्ञ चलिरहेको ठाउँमा रोशनी शाहीले गिरीलाई अपशब्द प्रयोग गरेर गालीगलौज गरेको प्रहरीको भनाइ छ । त्यसैले असहज परिस्थिति सिर्जना नहोस् भनेर उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनलाई केहीबेर नियन्त्रणमा राखेर श्रीमानको रोहबरमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
जिल्ला अदालत, सुनसरीमा उनीसिद्धबाबा भनिने कृष्ण गिरीविरुद्धको बलात्कार मुद्दा विचाराधीन छ ।







