श्रीमानले मलद्वारमा लौरो घुसाउँदा सख्त घाइते भएकी श्रीमतीको मृत्यु
आफ्नै घरमा श्रीमानबाट शारीरिक यातना पाएकी एक महिलाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। चितवनको खैरहनी नगरपालिका–१० की गीता माझी गत बिहीबार साँझ श्रीमानबाट कुटिएकी थिइन्।
माझीको गएराति भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।
पछिल्लो पटक रामचन्द्रले गीताको मलद्वारबाट लौरो घुसाएर यातना दिएपछि उनी गम्भीर घाइते भएकी थिइन् । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार गीताको मलद्वार र यौनाङ्ग बीचको भाग च्यातिएको थियो ।गत बिहीबार घाइते भएकी उनको भरतपुर अस्पतालमा सोमबार (हिजो) शल्यक्रिया गरिएको थियो । तर सोमबार राति ११ बजेतिर एक्कासी मुटुको धड्कन बन्द भएर उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।
गीताका श्रीमान रामचन्द्र प्रहरीको हिरासतमा छन् । उनलाई ज्यान मार्ने उद्योग र जबरजस्ती करणीमा मुद्दा दर्ता गरिएको छ । सोमबारसम्म उनका विरुद्ध किटानी जाहेरी परेको छैन । जाहेरी गर्ने मानिस नभएर प्रहरीले आफ्नै प्रतिवेदनमा आधारित भएर मुद्दा चलाएको छ ।







