राजनीति / देश
Tuesday, 22 Sep, 2020
संवैधानिक आयोगमा पदपूर्ति गर्न माग
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले तत्काल संवैधानिक आयोगमा पदपूर्ति गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले संवैधानिक आयोगमा तत्काल पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकले तत्काल संवैधानिक परिषद्को बैठक बोलाएर पदपूर्ति प्रक्रिया अघि बढाउन निर्देशन दिएको उनको भनाइ छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक आयोगमा पदपूर्ति हुन नसकेको आरोप लगाइरहँदा सत्तारुढ दलले पनि पदपूर्तिका लागि आग्रह गरेको हो ।
१३ वटा संवैधानिक आयोगमध्ये अहिले १० आयोगमा ३९ पद रिक्त छन् । प्रतिपक्षी दलसँगको भागबन्डा नमिलेकै कारण नियुक्तिमा ढिलाइ भएको बताइन्छ ।







