ब्युँतियो नेकपा एमाले
काठमाडौं
निर्वाचन आयोगले नेकपा एमाले दर्ता गर्ने निर्णय गरेको छ । निवेदन परेसँगै विवादमा आएको सो पार्टीलाई आयोगले वैधता दिने निर्णय गरेपछि पुरानो एमाले ब्युँतिएको हो ।
तत्कालीन नेकपा माओवादी र नेकपा एमाले एकीकरण भएर हाल नेपाल कम्युनिस्ट पार्टीको रुपमा सरकार चलाइरहेको छ । नेकपाभित्र प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षबीच विवाद बढेपछि पूर्वएमाले समर्थित कार्यकर्ताले गत असारमा दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । विराटनगरकी सन्ध्या तिवारी अध्यक्ष रहने गरी पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको थियो ।त्यसपछि पछिल्लो समय नेकपामा विवाद उत्पन्न भएको थियो ।नेकपाका अध्यक्ष प्रचण्डले नै यो पार्टी दर्ताको प्रक्रिया अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीको इशारामा भएको दावी गरेका थिए । त्यसले गर्दा पार्टीमा विवाद नै उत्पन्न भयो र स्थायी कमिटी बैठक नै प्रभावित भएको थियो ।सो पार्टीका तर्फबाट निर्वाचन आयोगमा बुझाइएको कागजपत्रका आधारमा हस्ताक्षरहरू प्रमाणित भएपछि भदौ ३ गते दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
नेकपाले पार्टीको आन्तरिक विवाद समाधानका लागि विष्णु पौडेलको अध्यक्षतामा कार्यदल गठन गरेको छ । कार्यदलले छलफल गरिरहेको बेला आयोगले एमाले पार्टी दर्ता गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगमा पार्टी दर्ता भएसँगै नेकपामा पुनः शंका चुलिएको छ ।







