फेवातालमा डुबेका युवकको उपचार क्रममा मृत्यु
पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको सशस्त्र प्रहरीले उद्धार गरे पनि उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका–१५ रामबजार निवासी १९ वर्षीय अमर थापा रहेका छन्। उनी पोखरा महानगरपालिका–६ स्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।
थापा डुबेर बेपत्ता भएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण मुख्यालय कालिका, कास्कीबाट गोताखोरसहितको विपद् व्यवस्थापन टोली सोमबार बेलुकी ८ बजे उद्धारका लागि घटनास्थलतर्फ खटिएको थियो।
सशस्त्र प्रहरीको टोलीले खोजी कार्यका क्रममा राति ९:१० बजे फेवातालको करिब २५ फिट गहिराइबाट थापालाई अचेत अवस्थामा फेला पारी पानीबाट बाहिर निकालेको थियो। उद्धारलगत्तै उनलाई थप उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पुर्याइएको थियो।
तर उपचारका क्रममा राति ९:४४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण मुख्यालय कालिका, कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) खेमनाथ शर्माले जानकारी दिए।







