लगानी बोर्डद्वारा ९ परियोजनाका लागि पौने ३ खर्ब लगानी स्वीकृत
काठमाडौं। लगानी बोर्डले आर्थिक वर्ष २०८०÷८१ मा ९ परियोजनाका लागि २ खर्ब ७१ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ। बिहीबार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीसमक्ष आर्थिक वर्ष २०८०÷८१ मा भएका कार्यसम्पादन करार बमोजिमको कार्यसम्पादन प्रतिवेदनमा सो रकम बराबरको लगानी स्वीकृत भएको उल्लेख छ। सार्वजनिक÷निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को नियम ८ बमोजिम गत आवका लागि बोर्डको रणनीतिक योजनाका चार वटा स्तम्भअन्तर्गत चयन गरिएका ६० वटा क्रियाकलापको समय सारिणीसहितको मापनयोग्य सूचकका आधारमा कार्यसम्पादन करार गरिएको थियो।
रणनीतिक योजनाका चार वटा स्तम्भः परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास, समन्वय, सहकार्य र साझेदारीमा केन्द्रित रही सम्पादन गरिएका कार्यको प्रगति विवरण समेटिएको उक्त प्रतिवेदनमा तोकिएअनुसारका सम्पूर्ण सूचक पूरा भई शतप्रतिशत कार्यसम्पन्न भएको लगानी बोर्डको भनाइ छ।
‘यस अवधिमा ९ वटा परियोजनाका लागि २ खर्ब ७१ अर्ब २६ करोडबराबरको लगानी स्वीकृत भएको छ’, प्रतिवेदनमा उल्लेख छ, ‘बोर्डबाट भएको प्रभावकारी समन्वय र सहजीकरणको परिणामस्वरुप गत जेठ २२ मा अरुण तेस्रो जलविद्युत् परियोजनाको ‘हेडरेस टनेल’को ‘ब्रेकथ्रु’ भएपछि उक्त परियोजनाको जेनेरेसनतर्फ ७५ प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भएको छ भने ट्रान्समिसन लाइनतर्फ ३८ दशमलव २१ प्रतिशत निर्माण कार्यप्रगति भएको छ।’
बोर्डका सहसचिव तथा प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले तल्लो अरुण जलविद्युत् परियोजनाको जग्गा प्राप्ति सुरु भएको र माथिल्लो त्रिशूली–१ जलविद्युत् परियोजनाको निर्माण तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिए। उनका अनुसार यसका साथै वीरेठाँटी–मुक्तिनाथ केबलकार परियोजनाको विस्तृत परियोजना प्रतिवेदन मूल्यांकन भइरहेको छ भने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा सिफारिस गरिएको छ।
पश्चिम सेती र सेती नदी–६ जलविद्युत् परियोजनाको एमओयू बमोजिम विकासकर्ताले पश्चिम सेती जलविद्युत् परियोजनाको मस्यौदा विस्तृत परियोजना प्रतिवेदन बोर्डको कार्यालयमा पेस गरेको उनले जानकारी दिए। उक्त मस्यौदा प्रतिवेदनको प्राविधिक समीक्षा–पुनरावलोकन गरी प्रतिवेदन लगानी बोर्ड समक्ष पेस गर्न विज्ञसहितको कार्यदल गठनको प्रक्रिया अगाडिसमेत बढेको उनको भनाइ छ। लगानी बोर्डबाट परियोजना विकास र सहजीकरणलाई सरल, व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न स्ट्याण्डर्ड अपरेटिङ कार्यविधि, परियोजना समन्वय समिति गठन भएको उनको भनाइ छ।
तेस्रो नेपाल लगानी सम्मेलनका बेला नेपालमा लगानीका सम्भाव्यताको उजागर गर्दै तयार गरिएका विभिन्न नौ वटा क्षेत्रका एक सय ५२ वटा परियोजना प्रस्तुत भएको थिए। बोर्डको कार्यक्षेत्रभित्र पर्ने १२ वटा परियोजना ९चार ऊर्जा परियोजनासमेत० सहित कुल १९ वटा परियोजनामा आशयपत्र आह्वान गरिएकोमा दुई वटा परियोजनामा आशयपत्र प्राप्त भई मूल्यांकन अगाडि बढेको उनको भनाइ छ।
उल्लिखित प्रयासबाट नेपाललाई लगानीको उपयुक्त गन्तव्यका रुपमा चिनाउन सहयोग पुगेको र आगामी दिनमा प्रत्यक्ष विदेशी लगानी थप अभिवृद्धि हुने अपेक्षा गरिएको उनले बताए।