एनसेल सेयर खरिद–बिक्री प्रकरणः प्रतिवेदन बुझाउन प्रधानमन्त्रीसँग समय माग
काठमाडौं– एनसेल सेयर खरिद–बिक्री प्रकरण छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाउन समय माग गरेको छ। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको सेयर खरिद–बिक्री प्रकरण छानबिन गर्न बनेको समितिले म्याद समाप्त भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाउन समय माग गरेको हो।
एनसेल सेयर खरिद–बिक्री विवादमा तानिएपछि गत मंसिर २१ को मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो। समितिले सुझावसहितको प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नेछ।
आजियाबाट स्पेक्ट्रलाइटले विभिन्न सर्तसहित ५ करोड डलर (करिब ६ अर्ब ६५ करोड रुपैयाँ) मा एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको थियो। त्यसलगत्तै कम मूल्यमा खरिद–बिक्री भएको देखाइएको भन्दै यसको विरोध हुँदै आएको छ।
संघीय संसदअन्तर्गतका सार्वजनिक लेखा समिति, अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले समेत सोही प्रकरणमा छलफल गरिसकेका छन्। सरकारबाट गठित उच्चस्तरीय छानबिन समितिले प्रकरणबारेका वास्ताविक तथ्य केलाउने विश्वास गरिएको छ।







