नेपाल घुम्न आउने पर्यटकको संख्या १० लाख नाघ्यो
काठमाडौं– सन् २०२३ सकिँदै छ। अंग्रेजी वर्ष २०२३ अन्त्यसम्म १० लाख बढी विदेशी पर्यटक नेपाल घुम्न आएको पर्यटन बोर्डले तथ्यांक सार्वजनिक गरेको छ।
बोर्डको तथ्यांकअनुसार शनिबारसम्म १० लाख ८ हजार ६ सय १४ पर्यटक नेपाल भ्रमणमा आएका हुन्
योसँगै सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको बोर्डले बताएको छ।
सरकारले चालू आर्थिक वर्षको बजेटमा सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १० लाख पु¥याइने उल्लेख गरेको थियो।
कोरोनाले शिथिल बनेको पर्यटन क्षेत्र क्रमशः सुधारको बाटोमा गएको पर्यटन मन्त्रालयले जनाएको छ।
बोर्डका अनुसार महामारीपछि यो वर्ष ८५ प्रतिशत पर्यटन पुनःरुत्थान भएको छ। सन् २०१९ मा १२ लाख हाराहारी विदेशी पर्यटक आएका थिए। सोही आधारमा सन् २०२३ मा ८५ प्रतिशत पर्यटन पुनःरुत्थान भएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए।
‘यस वर्ष पर्यटक आगमन उत्साहजनक छ। आगामी दिनमा पर्यटक बढाउन भैरहवा र पोखरामा रहेका अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र पर्यटक स्रोत बजारमा प्रभावकारी बजारीकरणका लागि बोर्डले रणनीतिक कार्ययोजना बनाउने तयारी छ।’
पर्यटक आगमन उत्साहवद्र्धक रहेको र आगामी दिनमा थप वृद्धि हुने होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहको भनाइ छ। उनले भने, ‘एकपछि अर्को ठूला तारे होटल खुल्ने क्रम जारी छ। २०८१ सम्म थप १५ बढी होटल थपिँदै छन्। सरकारले निजी क्षेत्रसँगको साझेदारी फराकिलो बनाउन सके आगामी दिनमा थप पर्यटक आगमन बढ्न सघाउँछ।’
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर १० लाख बढी पर्यटक भित्रिएको भन्दै उनले थप दुई अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरालाई प्रभावकारी सञ्चालन गर्न सके अर्को वर्ष दोब्बर संख्यामा पर्यटकलाई स्वागत गर्न कुनै कठिनाइ नहुने जिकिर गरे।
सरकारले अर्को वर्ष विदेशी पर्यटकको सङ्ख्या झन्डै दोब्बर बनाउने लक्ष्य लिएको छ। सरकार एक वर्ष पूरा भएको अवसरमा पुस १० मा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस्तो बताएका हुन्।
सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको छ। सन् २०२३ देखि २०३२ लाई पर्यटन दशकका रुपमा मनाएर ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ।
यस वर्ष नेपाल आउने भारतीय पर्यटकको संख्या उल्लेख्य वृद्धि भएको छ। सन् २०१९ मा दुई लाख ५४ हजार एक सय ५० भारतीय पर्यटक नेपाल आएकामा यस वर्ष तीन लाख १७ हजार चार सय ८१ पर्यटकले नेपाल भ्रमण गरेका छन्।
भारतपछि अमेरिकी पर्यटकको संख्या यस वर्ष ९९ सय हजार ९ सय ८५ पुगेको छ।
त्यसैगरी चिनियाँ पर्यटकको संख्या पनि क्रमशः बढिरहेको छ। यस वर्ष ६० हजार एक सय ६० चिनियाँ पर्यटक नेपाल भित्रिएका छन्। सन् २०१९ मा एक लाख ६९ हजार पाँच सय ४३ चिनियाँ पर्यटक नेपाल आएका थिए।







