सुन तस्करी छानबिन समितिको प्रतिवेदन सार्वजनिक, घलेको नेतृत्वमा तस्करी
काठमाडौं–१३८ किलो सुन तस्करी प्रकरण छानबिन गर्न गठित त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ। समितिले सुन तस्करको मुख्य नाइके मीनबहादुर घले र उनको समूहले पटक–पटक गरी हालसम्म १३८ किलो सुन तस्करी गरेको छानबिनबाट देखिएको छ।
यसमध्ये पछिल्लो पटक १४ किलो सुन भन्सार कार्यालयले बरामद गरेको थियो।
मीनबहादुर घले र उनको समूहले २२ मंसिरमा दुबईबाट काठमाडौं आएका चन्द्र घलेलाई भन्सार कार्यालयले १४ किलो सुनसहित पक्राउ गरेकै बेला गोरखाका मीनबहादुर पनि पक्राउ परेका थिए ।
घटनाबारे छानबिन गर्न भन्सार कार्यालयले बनाएको समितिले गरेको अनुसन्धानका क्रममा मीनबहादुरले दुबईमा रहेका अंकित अग्रवाल नाम गरेका व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करीको चाँजोपाँजो मिलाएको छानबिन प्रतिवेदनको निष्कर्ष छ।
एयरपोर्टबाट कटाएको सुन रमेश, राधाकृष्ण र अनिलले काठमाडौंको टोखा नगरपालिका, बानियाटारसिथतर सूर्यदर्शन हाइटमा रहेको डीबी गुरुङको घरमा लैजाने गरेको प्रतिवेदनमा जनाइएको छ।







