एनसेल खरिद–बिक्रीमा अनियमितता गर्नेलाई कारबाही : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल सेयर खरिद–बिक्रीमा कानुनविपरीतका गतिविधि भएको देखिएको बताएका छन्।
आज संसद्को राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा बोलाइएका प्रधानमन्त्री प्रचण्डले एनसेल सेयर खरिद–बिक्री कानुनविपरीत भएको देखिएपछि छानबिन समिति गठन गरिएको बताए ।
छानबिन समितिले दिने निष्कर्षका आधारमा यसमा संलग्न जोसुकैलाई सरकारले कारबाही गर्ने उनको भनाइ छ ।
उनले भने, ‘छानबिन प्रतिवेदन प्राप्त भएपछि सरकारले नियमन, विदेशी लगानी र विदेशी मुद्रा सटही तथा करको विषयमा आवश्यक कारबाही अगाडि बढाउँछ।
एनसेलको ८० प्रतिशत सेयर न्यून मूल्यांकन भएको र कर छलीको विषय समाचार माध्यममा बाहिरिएपछि सरकार छानबिनमा लागेको उनको दाबी थियो।
बैठकमा सञ्चारमन्त्री रेखा शर्माले एनसेल खरिद–बिक्रीबारे पछिल्लो समय कुनै पनि प्रक्रिया अगाडि नबढाएको जानकारी दिइन् ।







