भूकम्प प्रभावित क्षेत्रमा जाँदै प्रधानमन्त्री प्रचण्ड
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र अवलोकनका लागि बझाङ जाने भएका छन्।
प्रधानमन्त्री प्रचण्ड शुक्रबार भूकम्पपीडित बझाङको वस्तुस्थिति बुझ्न जान लागेको उनका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।प्रधानमन्त्री प्रचण्डले बिहीबार बझाङका भूकम्प पीडितलाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुननिर्माण प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका थिए।
आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को १२औं बैठकमा प्रधानमन्त्री प्रचण्डले भूकम्प पीडित र प्रभावित जनतालाई राहत, उद्धार, पुनस्थापना तथा पुनर्निर्माणबारे आवश्यक निर्णय तथा कार्यान्वयन गर्न निर्देशन दिएका छन्।प्रधानमन्त्री प्रचण्डले प्राकृतिक विपदले सिर्जना गरेको संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको बताएका थिए। उनले सरकारका तर्फबाट राहत, उद्धार, उपचार, पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिन पनि निर्देशन दिएका थिए।
बझाङमा गत मंगलबार गएको भूकम्पमा परेर एक जनाको मृत्यु, केही घाइते र घर तथा विद्यालय भवनलगायत संरचनामा क्षति पुगेको छ।
भूकम्पले बझाङका तलकोट, मस्टा, खप्तडछान्ना, जयपृथ्वी नगरपालिका, सुर्मा, छविसपाथिभेरा, दुर्गाथली, थलारा, केदारस्यु, वित्थड, बुंगललगायत पालिका तथा सुदूरपश्चिमका विभिन्न जिल्लाका घर क्षति पुगेको छ।







