पहिरोले मध्यपहाडी र कालीगण्डकी करिडोर अवरुद्ध
बागलुङ– लगातारको वर्षापछि पहिरो जाँदा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएका छन् ।
लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–४ कालापैरा तथा करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक अवरुद्ध बनाएको हो ।
बुधबार साँझदेखि दुवै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।
वर्षा भइरहेका कारण सडक खुलाउन समस्या भएको छ । वर्षा रोकिएपछि सडक खुलाउन थाल्ने प्रहरी नायब उपरीक्षक केसी बताउँछन् ।
लोकमार्ग अवरुद्ध हुँदा पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम तथा निसीखोलाको निसी, भल्कोटलगायतका स्थानबाट बुर्तिबाङ, बागलुङ, पोखरा, काठमाडौंलगायत स्थानमा पुग्ने यातायातका साधन सडकमै ठप्प छन् ।
यात्रु बाटोमै अलपत्र परेका छन्। काठमाडौंदेखि पूर्वी रुकुम र निसीखोलाका विभिन्न स्थानमा यातायातका साधन सडकमै रोकिएको स्थानीय नरबहादुर क्षेत्रीले जानकारी दिए ।
कालीगण्डकी करिडोरमा चल्ने बागलुङ दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रका सवारी साधन पनि ठप्प छन्। सडक अवरुद्ध भएपछि दक्षिणी क्षेत्रमा सामान ढुवानी गर्नसमेत समस्या भएको जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले बताए ।







