देशभर ८७ प्रतिशत रोपाइँ
काठमाडौं–यस वर्ष हालसम्म मुलुकभर ८७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। २६ साउनसम्म देशभर ८७ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको हो।
गत वर्ष साउन २६ गतेसम्म करिब ९४ प्रतिशत रोपाइँ भएकोमा यस बर्ष खेतीयोग्य जमिनमध्ये देशभर ८७ प्रतिशत मात्रै धान रोपाइँ भएको हो । मुलुकभर १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको छ । सो क्षेत्रफलमध्ये साउन २६ गतेसम्म ८७ प्रतिशत अर्थात् १२ लाख ९१ हजार ९ सय ६८ हेक्टरमा मात्रै रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।
गत वर्ष यही अवधिको तुलनामा रोपाइँ करिब ७ प्रतिशत विन्दुले कमी हो । पोहोर २०७९ असार २९ गतेसम्म ९४ प्रतिशत अर्थात १४ लाख १७ हजार ९ सय ९० हेक्टरमा रोपाइँ भएको मन्त्रालयले बताएको छ । यस्तै, कर्णाली र सुदुरपश्चिम प्रदेशमा गोरुमा लम्पीस्कीन रोगका कारण गोरु अभाव भई रोपाइँ थोरै प्रभावित भएको मन्त्रालयले जनाएको छ ।
प्रतिशतको हिसाबमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा साउन १२ मै सम्पूर्ण रोपाई सम्पन्न भएको हो । त्यसपछि क्रमशः कर्णाली प्रदेशमा साउन २५ सम्म ९८ प्रतिशत, कोशी प्रदेशमा साउन २५ सम्म ९४ प्रतिशत, गण्डकी र लुम्बिनी प्रदेशमा साउन २६ सम्म ९३ प्रतिशत रोपाइँ सम्पन्न भएको तथ्यांकमा उल्लेख गरिएको छ ।
यस्तै, बागमती प्रदेशमा साउन १२ गतेसम्म ८८ प्रतिशत र मधेस प्रदेशमा सबैभन्दा कम रोपाई भएको छ । मधेश प्रदेशमा मन्त्रालयमा उपलब्ध भएको साउन १९ गतेसम्मको रोपाई तथ्यांकअनुसार ६८ प्रतिशत मात्रै रोपाई सम्पन्न भएको छ ।







