विद्युत् प्राधिकरणको मुनाफा १२ अर्ब ३३ करोड
मधेस, बागमती र गण्डकीमा शतप्रतिशत विद्युतीकरण भएको विवरण सार्वजनिक
काठमाडौं– सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड नाफा कमाएको विवरण सार्वजनिक गरेको छ ।आर्थिक वर्ष २०७९÷८० को अपरिस्कृत वित्तीय विवरणअनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
आव २०७७÷७८ मा प्राधिकरणको नाफा ६ अर्ब १० करोड थियो। आव २०७८÷७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड पुगेको थियो ।
पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राष्ट्रिय प्रसारणको बिजुली देशभरका ९५ प्रतिशत नागरिकको पहुँचमा पुगेको बताए । २ वर्षअघि ८९ प्रतिशत नागरिकले राष्ट्रिय प्रसारणमार्फत बिजुली बालेका थिए ।
मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्ण विद्युतीकरण भएको उनले बताए । कोसीमा ९५, लुम्बिनीमा ९८, कर्णालीमा ६७, सुदूरपश्चिम प्रदेशमा ८२ प्रतिशत विद्युतीकरण भएको घिसिङको भनाइ थियो ।
प्राधिकरणको तेस्रो वित्तीय पुनर्संरचना तयार गरी सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए ।गत आवमा सुक्खायामको समय लम्बिँदा नदीखोलामा पानीको बहाव घटेपछि प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् केन्द्रको विद्युत् उत्पादनमा ह्रास आउनुका साथै आन्तरिक माग धान्न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित बनेको घिसिङले दाबी गरे ।
विद्युत् बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्षअघि करिब ८१ अर्ब रहेकामा अहिले बढेर करिब १ खर्ब १८ अर्ब पुगेको घिसिङले विवरण प्रस्तुत गरे । प्राधिकरणको सञ्चित नाफा ११ अर्बबाट बढेर ३६ अर्ब ६७ करोड पुगेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।







