सभामुखसँग ट्युनिसियाका राजदूतको शिष्टाचार भेट
काठमाडौँ । सभामुख देवराज घिमिरेसँग ट्युनिसियाका गैर आवासीय राजदूत हयात तालबी ईपी बिलेलले भेट गरेका छन् ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा शुक्रवार भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान प्रदान, द्विपक्षीय व्यापार र पर्यटन प्रवर्द्धन लगायतका विषयमा छलफल भएको छ । सभामुख घिमिरेले नेपाल र ट्युनिसियाबीच पर्यटन, ऊर्जा र व्यापारका क्षेत्रमा बृहत्तर सहकार्य गर्न सकिने बताए ।ट्युनिसियाका गैर आवासीय राजदूत बिलेलले नेपाल जस्तै आफ्नो मुलुक पनि लामो समय गृहयुद्धबाट बाहिर निस्किएको बताउँदै आगामी दिनमा गहिरो सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गरे ।
ट्युनिसियाका सभामुख पनि नेपालका लागि संसदीय मैत्री समूह गठनको तयारीमा रहेको बताउँदै उनले संसदीय कुटनीति विस्तारमा जोड दिए । त्यसक्रममा उनले सभामुख घिमिरेलाई आफ्नो मुलुक भ्रमणका लागि निमन्त्रणा समेत गरेको सभामुखको निजी सचिवालयले जनाएको छ ।







