मन्त्री बनेपछि सोह्रश्राद्धको बाहुन जस्तो भएँ: मन्त्री किराती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्री बनेपछि आफू सोह्रश्राद्धको बाहुन जस्तो भएको बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित अमिन नेशनल म्युजिक अवार्डको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सांसद हुँदा मन्त्री बनेपछि ठूलाठूला काम मात्रै गर्नुपर्ने र फुर्सद मिल्ने अनुमान गरेपनि मन्त्री बनेपछि झनै कामको चाप बढी हुने अनुभव गरिरहेको बताएका हुन् ।
उनले भने, ‘म यो देशमा १० वर्ष सांसद भएर बिताइसकेको छु । मलाई लाग्थ्यो सांसद हुँदाखेरि म धेरै सानो सानो काममा हिँड्थेँ । यतिसम्मकी मान्छेहरूको बसको टिकटमा समस्या समेत पुग्थेँ, अनि लाग्थ्यो मन्त्री भएँ भने फुर्सद हुन्छ होला । ठूलोठूलो काम गर्नुपर्छ, ठूलो काम थोरै हुन्छ, अलि फुर्सद हुन्छ होला जस्तो लाग्थ्यो । तर म मन्त्री भएको ६५ दिन हाराहारी हुँदैछ । लाग्छ म त सोह्रश्राद्धको बाहुन जस्तो भएँ । हतारहतार सिधा उठाएर हिँडिहाल्नुपर्ने । त्यसको निम्ति म क्षमाप्रार्थी छु । अन्तिमसम्म कार्यक्रममा बस्न सकिनँ ।’







