आयोगले सोध्यो प्रधानमन्त्री कार्यालयलाई स्पष्टीकरण
निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारले दूरगामी प्रकृतिका निर्णय गरेको सूचना आएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो
काठमाडौं– निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा भइसकेपछि समेत दीर्घकालीन महत्त्व र दूरगामी प्रकृतिको निर्णय गरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई स्पष्टीकरण सोधेको छ ।निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा समेत सरकारले दूरगामी प्रकृतिका निर्णय गरेको सूचना आएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
‘आयोगले स्पष्टिकरण सोध्ने निर्णय गरिसकेको छ, पत्र तयार हुँदै छ, आजै जान्छ’ निर्वाचन आयोग स्रोतले भन्यो । निर्वाचनको मिति घोषणा गरिसकेको सरकारले दीर्घकालीन प्रकृतिका निर्णय गरिरहेको छ ।आयोगले नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि अनुमति दिने, नेपाल स्टक एक्सचेञ्जमा नयाँ ब्रोकरलाई अनुमति दिने, प्रदेश तहमा लघुबीमा कम्पनीलाई अनुमतिपत्र दिनेलगायत निर्णय गरेको थियो ।
त्यसैगरी कुनै क्षेत्र वा भेगका मतदातालाई प्रभावित पार्ने गरी अरु निर्णय भएको थियो । आयोगले यसअघि नै निर्वाचनको मिति र आचारसंहिता जारी भएपछि दीर्घकालीन प्रकृतिका निर्णय र अन्य नीतिगत निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराइसकेको थियो ।







