प्रत्यक्षतर्फ सकियो दुई प्रदेशको मतपत्र छपाइ
आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि प्रत्यक्ष निर्वाचनका मतपत्र छपाइ सकेको हो।
काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र छपाइ सम्पन्न भएको जनाएको छ ।यी दुई प्रदेशमा रहेका निर्वाचन क्षेत्रसहित हालसम्म यस प्रणालीतर्फ प्रतिनिधिसभाको ३८ र प्रदेशसभाको ८० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको हो ।
यस पटक पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयनपत्र दर्ता भई अन्तिम नामावलीमा कायम उम्मेदवारको निर्वाचन चिह्न मात्र समावेश गरी मतपत्र छपाइ गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा दैनिक करिब २५ लाख मतपत्र छपाइ गरिरहेको छ । हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कुल ८९ लाख ९९ हजार मतपत्र छपाइ भइसकेको छ ।यसमध्ये प्रदेश सभातर्फ ४७ लाख १५ हजार र प्रतिनिधिसभातर्फ ४३ लाख ४८ हजार छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भई वितरण सुरु भइसकेको छ । हालसम्म बागमती, मधेस र प्रदेश १ का सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी भइसकेको छ । बाँकी प्रदेशमा ३ कात्तिकदेखि मतपत्र ढुवानी सुरु हुनेछ ।







