नागढुंगा सुरुङ मार्गको भौतिक प्रगति ६५ प्रतिशत
कुल २ दशमलव ६८ किलोमिटरको मुख्य सुरुङ मार्गमध्ये मंगलबारसम्म १ दशमलव ५९ किलोमिटर सम्पन्न
काठमाडौं– साढे ३ वर्षमा निर्माण सकाउने गरी शिलान्यास भएको नागढुंगा सुरुङ मार्ग आयोजना सम्झौता अवधिमै नसकिने देखिएको छ । आयोजनाको सम्झौता अवधि सकिन ६ महिना बाँकी हुँदा यसको भौतिक प्रगति ६५ दशमलव ३० प्रतिशत पुगेको छ ।
४ कात्तिक २०७६ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले उक्त सुरुङ मार्ग शिलान्यास गरेका थिए । शिलान्यासपछि आयोजनाका लागि आवश्यक निर्माण उपकरण, विस्फोटक सामग्रीको उपलब्धताका साथै मुआब्जालगायत समस्याले सुरुङ मार्ग निर्माण सुरु गर्नै ढिलो भएको थियो ।
कोरोना महामारीका कारण थप ढिलो हुँदा तोकिएको अवधिमा आयोजना सम्पन्न हुन नसकेको सडक विभागले बताएको छ ।
निर्धारित समयमै सम्पन्न नहुने भएसँगै सडक विभागले आयोजनाको म्याद ८६ दिन थप गरिसकेको छ । ४२ महिनामा सम्पन्न गर्ने गरी जापानी कम्पनी हाज्मा÷आन्दो कर्पोरेसनले सुरुङ मार्ग बनाउने जिम्मा लिएको थियो । आउँदो वैशाखसम्म सुरुङ मार्ग बनिसक्नुपर्नेमा अझै थप समय लाग्ने भएको छ ।
आयोजनाका निर्देशक रामहरि पोखरेलले आयोजनाको म्याद ८६ दिन थपिएको जानकारी दिए । यद्यपि निर्माण कम्पनी हाज्मा÷आन्दोले अझै ६÷७ महिना म्याद बढाउन विभागसँग माग गरेको छ । तर निर्माण कम्पनीले मागेअनुसार म्याद नथपिने पोखरेलले बताए ।‘उहाँहरूले उक्त अवधिका लागि म्याद थप्न भन्नुभएको छ,’ उनले भने, ‘हामीले घटाएर थप्ने भनेका छौं । सम्भवतः ३÷४ महिना म्याद थपिन्छ ।’
यस अवधिमा आयोजनामा मुख्य सुरुङ मार्ग, सहायक सडक, पुल, अन्डरपास, ओभरपास बनेका छन् । कुल २ दशमलव ६८ किलोमिटरको मुख्य सुरुङ मार्गमध्ये मंगलबारसम्म १ दशमलव ५९ किलोमिटर सम्पन्न भएको छ ।
आयोजनाले मंगलबार सार्वजनिक गरेको प्रगति विवरणअनुसार आयोजनामा तीन पुल, चार बक्स निर्माण सम्पन्न भइसकेका छन् ।
तीन वटा अन्डरपासमध्ये दुई वटा सम्पन्न भएका छन् । फ्लाईओभर भने निर्माणाधीन रहेको आयोजनाले उल्लेख गरेको छ । सुरुङ मार्गसहित कुल लम्बाइ ५ दशमलव ७ किलोमिटर रहेको आयोजनाको लागत २२ अर्ब रुपैयाँ छ ।







