सामाजिक सञ्जालमा चुनाव प्रचारसम्बन्धी विज्ञापन राखे खर्च विवरण देखाउनुपर्ने
सामाजिक सञ्जाल प्रयोग गरी चुनावी प्रचार गर्न थालिएको देखिएकाले यस्तो खर्चको विवरण राख्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको हो।
काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरको चुनावमा उम्मेदवारले फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालबाट चुनावी प्रचार–प्रसारका सामग्री (विज्ञापन) राखे त्यसको खर्च विवरणसमेत बुझाउनुपर्ने बताएको छ ।
आयोगले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल प्रयोग गरी चुनावी प्रचार गर्न थालिएको देखिएकाले यस्तो खर्चको विवरण राख्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको हो ।
दल वा उम्मेदवारले सामाजिक सञ्जाल प्रयोग गरी गरेको प्रचार (विज्ञापन)लाई निर्वाचन खर्चमा समावेश गर्नुपर्ने भएको हो ।सामाजिक सञ्जालबाट गरिने विज्ञापन खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानुनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गरे वा नगरेको अनुगमन र परीक्षणसमेत गरिने आयोगले बताएको छ ।







