कार्यान्वयनमा आयो निर्वाचन आचारसंहिता
आचारसंहिता पालनालाई राजनीतिक दलहरुले कडाइका साथ पालना गर्ने आयोगको विश्वास
काठमाडौं– आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधबारदेखि लागू भएको छ ।निर्वाचन आयोगले बुधबारदेखि निर्वाचन आचारसंहिता २०७९ लागू गर्ने निर्णय गरेको प्रमुख आयुक्त दिनेश थपलियाले बताए ।
मंगलबार बसेको आयोग बैठकले आचारसंहिताबारे निर्णय गरेको आयोगका प्रमुख आयुक्त थपलियाले जानकारी दिए ।प्रमुख आयुक्त थपलियाले आचारसंहिता पालनालाई राजनीतिक दलहरुले कडाइका साथ पालना गर्ने विश्वास लिएको बताए ।‘निर्वाचन आयोगले १२ असोजदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ,’ थपलियाले भने, ‘आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु ।’
आयोगले दलहरुलाई २३ असोजमा उम्मेदवारको मनोनयन गर्ने कार्यसूची छ । २ र ३ असोजमा दलहरुले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाइसकेका छन् ।निर्वाचन आयोगद्वारा जारी आचारसंहिताअनुसार संघ र प्रदेश सरकारका मन्त्रीहरुले आफ्नो दलका लागि चुनाव प्रचार गर्न नपाउने भएका छन् । तर आफू उठेको चुनाव क्षेत्रमा भने उनीहरुले चुनाव प्रचार गर्न पाउनेछन् ।
त्यसरी चुनाव प्रचार गर्दा सरकारी गाडीलगायतका स्रोत–साधन प्रयोग गर्न पाइने छैन ।उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च हुने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने र छुट्टै खाता खोली बैंक खातामार्फत खर्च गर्नुपर्ने प्रावधान आचारसंहितामा राखिएको छ ।
त्यसैगरी उम्मेदवारले २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने आचारसंहितामा उल्लेख छ ।







