सर्वोच्च अदालतमा सभामुख र उपसभामुखको पद खाली गराउन माग गर्दै रिट
अधिवक्ताद्वय पौडेल र भट्टराईले सर्वोच्चमा रिट दायर गर्दै प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता हुने अघिल्लो दिनबाट सभामुख र उपसभामुख पद पनि रिक्त भएको दाबी गरेका हुन्
काठमाडौं– सर्वोच्च अदालतमा सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दै रिट दायर भएको छ ।
अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराईले सर्वोच्चमा रिट दायर गर्दै प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता हुने अघिल्लो दिनबाट सभामुख र उपसभामुख पद पनि रिक्त भएको दाबी गरेका हुन् ।
सभामुख अग्निप्रसाद सापकोटाा र उपसभामुख पुष्पा भुसालले कार्यकाल सकिँदा पनि राजीनामा नदिएको भन्दै रिटमा उनीहरुको पद खाली गराउन परमादेश माग गरिएको छ ।
‘सभामुख र उपसभामुखको पदावधि सकिँदा पनि राज्य स्रोत–साधन तथा प्राप्त सेवा–सुविधा प्रयोग गरिरहनुभएको छ । यो दुरुपयोग संविधानमाथिको निर्मम प्रहार र धोकाधडी हो’ रिटमा भनिएको छ, ‘संविधानको अक्षरशः पालना गर्ने हो भने सभामुख र उपसभामुखले राज्यको स्रोत–साधनको दुरुपयोग गरिरहनुभएको छ ।’
४ मंसिरको स्थानीय तह निर्वाचनका लागि समानुपातिक पद्धतितर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकिएको भन्दै रिटमा सभामुख र उपसभामुखले राजीनामा नदिएर राज्य स्रोतको दुरुपयोग गरिरहेको रिट निवेदकको भनाइ छ । उनीहरुले मुद्दाको अन्तिम किनारा नलागेसम्म सभामुख र उपसभामुखलाई राज्य स्रोतबाट प्राप्त सेवा–सुविधा नदिन अन्तरिम आदेश माग गरेका छन् ।
रिटमा शुक्रबारका लागि पेशी तोकिएको छ ।







