भदौमा मलेसिया रोजगारीमा जान ३३ हजारले लिए श्रम स्वीकृति
श्रम स्वीकृति लिनेमा ३१ हजार ९२० पुरुष छन् भने १ हजार ८३ महिला छन्।
काठमाडौं– एक महिना अवधिमा ३३ हजार ३ सयले मलेसिया जान श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले विवरण सार्वजनिक गरेको छ ।
श्रम स्वीकृति लिनेमा ३१ हजार ९२० पुरुष छन् भने १ हजार ८३ महिला छन् । उनीहरूले संस्थागत रूपमा श्रम स्वीकृति लिएका हुन् । १७ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएको विभागले बताएको छ ।
साउनमा २२ हजार ३६१ जनाले मलेसिया जान श्रम स्वीकृति लिएका थिए । साउनको तुलनामा भदौमा १० हजार ६४२ जना बढीले मलेसिया जान श्रम स्वीकृति लिएका हुन् ।
भदौमा ७६ हजार ४०३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । यीमध्ये ६८ हजार ८८४ पुरुष र ७ हजार ५१९ महिला रहेका छन् । भदौमा १३ जना उच्च दक्ष जनशक्तिले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । त्यस्तै, १४६ जना प्रोफेसनल, ५ हजार ९२ जना अर्धदक्ष जनशक्ति, ४६ हजार ६९ जना दक्ष जनशक्ति र २५ हजार ८३ जना अदक्ष जनशक्ति रहेको विभागको तथ्यांकमा उल्लेख छ ।
साउनमा ६३ हजार ३९ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।







