स्थानीय तहका जनप्रतिनिधिलाई व्यक्तिगत निम्तोमा विदेश जान रोक
पछिल्लो समय प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिलाई विदेश भ्रमणको सहमतिका लागि आउने सिफारिसमा व्यक्तिगत निमन्त्रणा बढी देखिएपछि लगाइयो रोक
काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्थानीय तहका जनप्रतिनिधिलाई व्यक्तिगत नाममा आएको निम्तोमा विदेश भ्रमण अनुमतिमा रोक लगाएको छ।
पछिल्लो समय प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिलाई विदेश भ्रमणको सहमतिका लागि आउने सिफारिसमा व्यक्तिगत निमन्त्रणा बढी आएको भन्दै कार्यालयले यस्तो निर्णय गरेको हो।
व्यक्तिगत निमन्त्रणा आउने, कार्यक्रम गैरसरकारी संस्थाले आयोजना गरेको प्रकृतिको हुने र कतिपय कार्यक्रम सम्बन्धित पदाधिकारीको कार्यक्षेत्रसँग सम्बन्धित नरहेको भन्दै विदेश भ्रमण अनुमति दिन समस्या परेको बताइएको छ।कतिपय अवस्थामा आमन्त्रण गर्ने संस्थाको आधिकारिकता समेत पुष्टि हुन नसकेको र कतिपय सिफारिस विदेश भ्रमणको मनोनयन निर्देशिकाको प्रावधान अनुकूल नआएकाले समस्या देखिएको कार्यालयले उल्लेख गरेको छ ।
कार्यालयले वैदेशिक भ्रमणका लागि प्रदेशका पदाधिकारी÷कर्मचारी मनोनयन गर्नुपूर्व ‘प्रदेश तथा स्थानीय तहले विदेशी सरकार, नियोग र अन्तर्राष्ट्रिय संघ–संस्थासँग सम्पर्क गर्दा अवलम्बन गर्नुपर्ने कार्यविधिसम्बन्धी निर्देशिका २०७६ बमोजिम परराष्ट्र मन्त्रालयको सहमति लिन र सहमति प्राप्त भएपछि मात्र मनोनयन गर्ने निर्णय गरेको छ ।
कार्यालयले अब नेपालसँग दौत्य सम्बन्ध कायम भएका विदेश सरकार, नेपाल सदस्य भएका अन्तर्राष्ट्रिय संघ–संस्था, संयुक्त राष्ट्रसंघ र सो अन्तर्गतका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गर्नेबाहेक स्थानीय गैरसरकारी संघ–संस्थाको कार्यक्रममा मनोनयन नदिने निर्णय गरेको छ ।







