नेकपा एसले समानुपातिकमा पुरानालाई टिकट नदिने
नेकपा एसले हाल समानुपातिकबाट प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य रहेकालाई अहिलेको बन्दसूचीमा नराख्ने भएको हो
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूचीको मापदण्ड तय गरेको छ ।
त्यस्तै, स्थानीय तह निर्वाचन २०७९ मा पार्टीका तर्फबाट उम्मेदवार भएकालाई अहिलेको बन्दसूचीमा नराख्ने तथा विगतमा दुई पटक वा सोभन्दा बढी समानुपातिक सांसद वा राष्ट्रिय सभाको सदस्य भएकालाई पनि बन्दसूचीमा नराखिने पार्टी महासचिव वेदुराम भुसालले बताए ।
नेकपा एसले हाल समानुपातिर्कबाट प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य रहेकालाई अहिलेको बन्दसूचीमा नराख्ने भएको हो ।भुसालका अनुसार उम्मेदवार तय गर्दा कार्यक्षमता राम्रो भएको र सक्रिय रहेको, पार्टी निर्माणमा योगदान गरेको, स्वच्छ छवि भएको र सुशासनको पक्षपाती भएको तथा भौगोलिक सन्तुलन मिलाउने विषयलाई प्राथमिकता दिइनेछ ।







