मंसिरको निर्वाचनमा १ करोड ८० लाख मतदाता हुने
सबैभन्दा कम मनाङमा ६ हजार ७७९ र सबैभन्दा बढी मोरङमा ७ लाख ३५ हजार ५२५ मतदाता रहेका छन्निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन पाउने मतदाताको अन्तिम नामावली स्वीकृत गरेको हो
काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताको अन्तिम नामावली स्वीकृत गरेको छ ।
शुक्रबार आयोगले १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताको अन्तिम नामावली स्वीकृत गरेको हो । ३ मंसिरसम्म १८ वर्ष उमेर पूरा हुने ८८ लाख ४७ हजार ५७९ महिला, ९१ लाख ४० हजार ८०६ पुरुष र १८५ अन्य छन् ।
आयोगका अनुसार सबभन्दा धेरै मतदाता मोरङमा छन् । मोरङमा ७ लाख ३५ हजार ५२५ मतदाता रहेका छन् । झापामा ६ लाख ६३ हजार ३११ र काठमाडौंमा ६ लाख ५२ हजार १२६ मतदाता रहेको आयोगले जनाएको छ ।
सबभन्दा कम मनाङमा ६ हजार ७७९ मतदाता छन् । मुस्ताङमा १० हजार ९५७ र डोल्पामा २२ हजार ७७४ मतदाता रहेका छन् ।
प्रदेशगत रूपमा सबभन्दा धेरै मतदाता बागमतीमा रहेका छन् । यहाँ ३४ लाख ७१ हजार ४९२ मतदाता छन् भने सबभन्दा कम कर्णाली प्रदेशमा १० लाख ८ हजार ४०३ छन् ।







