राजनीति / देश
Friday, 9 Sep, 2022
नेपाली सेना र प्रहरीलाई बहाल कर बुझाउन महानगरको निर्देशन
तोकिएका कार्यालयले आफ्नो क्षेत्रभित्र बहाल लगाई आम्दानी गरिरहे पनि कर नतिरेपछि महानगरको ताकेता
काठमाडौं– काठमाडौं महानगरले नेपाली सेना, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई घर बहाल कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ ।
महानगरले नेपाली सेनाको केन्द्रीय कार्यालय थापाथली, समाज कल्याण परिषद्, लैनचौर र नेपाल प्रहरी प्रधान कार्यालय नक्साललाई बहाल कर बुझाउन १० दिने अल्टिमेटम दिएको हो ।
ती कार्यालयले आफ्नो क्षेत्रभित्र बहाल लगाई आम्दानी गरेको तर कर बुझाउन महानगरले पटक–पटक ताकेता गर्दै आए पनि नबुझाएको भन्दै जरिमानासहित कर बुझाउन महानगरले निर्देशन दिएको हो ।
महानगरले कर नबुझाए राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।







