भिजिट भिसामार्फत मानव बेचबिखन बढेपछि निगरानी गर्दै प्रहरी
८ देखि ११ भदौसम्म प्रहरीले भ्रमण भिसामा जान लागेका झन्डै २०० व्यक्तिको कागजात शंकास्पद देखिएपछि निगरानी गर्न थालेको हो।
काठमाडौं– भ्रमण भिसाको दुरुपयोग गरी मानव बेचबिखनका घटना सार्वजनिक हुन थालेपछि नेपाल प्रहरीले निगरानी थालेको छ ।
८ देखि ११ भदौसम्म प्रहरीले भ्रमण भिसामा जान लागेका झन्डै २०० व्यक्तिको कागजात शंकास्पद देखिएपछि उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको थियो ।
उनीहरूमाथि अनुसन्धान गर्ने क्रममा ३९ जनालाई नक्कली कागजात बनाएर भ्रमण भिसा दिई कुवेतमा बेचबिखन गर्न लागेको खुलेको प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए । त्यसमा केही व्यक्ति संलग्न रहेका पाइएकाले उनीहरूको खोजीकार्य सुरु भएको उनको भनाइ छ ।
सरकारले घरेलु कामदार पठाउन रोक लगाएको कुवेतमा पठाउने क्रममा ८ भदौमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पीडितलाई फिर्ता गराएको थियो । प्रहरीका अनुसार पीडितलाई फ्रि–भिसा, फ्रि–टिकटमा कुवेतमा घरायसी काममा लगाइदिने र आकर्षक तलब मिल्ने प्रलोभन दिइएको पाइएको छ ।
गिरोहले पीडितको आवश्यक पासपोर्टलगायतका कागजातसमेत आफैं बनाई महिला र पुरुषलाई काठमाडौंमा ल्याएर राख्ने गरेको खुल्न आएको छ ।
उनीहरूका कागजात जाँच गर्दा नक्कली रहेको फेला परेको छ । गैरकानुनी रूपमा कुवेत लैजान लागेको पुष्टि भएपछि पीडितले आवश्यक कानूनी कारबाहीका लागि ब्युरोमा जाहेरी दिएको मल्लले बताए ।
आरोपीमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको र खोजीकार्य जारी रहेको ब्युरोले जनाएको छ । उनीहरूको नाम भने ब्युरोले खुलाएको छैन ।







