मनाइँदै १५औं पुस्तकालय दिवस
समितिद्वारा मुलुकका सबै विश्वविद्यालय, प्रदेशका सामाजिक विकास मन्त्रालयहरू, ७५३ वटै स्थानीय निकायलगायतलाई पुस्तकालयको विकास र विस्तारमा रचनात्मक कार्यक्रम सञ्चालन गर्न आग्रह
काठमाडौं– ‘पढौं पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं’ आदर्श वाक्यका साथ १५औं पुस्तकालय दिवस बुधबार मनाइँदै छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको राष्ट्रिय पुस्तकालय दिवस मूल आयोजक समिति, २०७९ को आयोजनामा काठमाडौंस्थित रुसी सदन, कमलपोखरीमा मूल समारोह आयोजना हुनेछ ।
समारोहमा पुस्तकालय तथा सूचना विज्ञान क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरूप व्यक्ति वा संस्थालाई सम्मान, सामाजिक तथा रचनात्मक क्रियाकलाप उपसमितिद्वारा सञ्चालित निबन्ध प्रतियोगिताका विजयी व्यक्तिलाई प्रशंसापत्र वितरण तथा स्मारिका विमोचन हुने समितिका सदस्य–सचिव यादवचन्द्र निरौलाले बताए ।
समितिले मुलुकका सबै विश्वविद्यालय, प्रदेशका सामाजिक विकास मन्त्रालयहरू, शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय निकाय, गाउँपालिका महासंघ नेपाल, नेपाल नगरपालिका संघ एवं पुस्तकालयको विकास र विस्तारमा संलग्न सबै गैरसरकारी संघ–संस्थामा समेत विविध रचनात्मक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ ।







