भुसालले सार्वजनिक गरिन् १७ बुँदे उपलब्धि
नेपालको विद्युत् उत्पादन क्षमता २,२६९ मेगावाट पुग्यो ।
काठमाडौं–ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले मन्त्रालयको उपलब्धि सार्वजनिक गरेकी छन् ।मन्त्री भुसालले गत आर्थिक वर्षमा मन्त्रालयको वित्तीय र भौतिक प्रगति क्रमशः ७६.६६ र ८० प्रतिशत हासिल गरेको बताइन् ।

गत आवमा विद्युत् उत्पादन क्षमता ७४१ मेगावाट थप भई कुल विद्युत् उत्पादन क्षमता २२६९ मेगावाट पुगेको बताइन् । ६६ केभीमाथिको प्रसारण लाइन ४४६ सर्किट किमि थप भई ५०८६ सर्किट किलोमिटर निर्माण भएको उनको भनाइ छ । विद्युत् चुहावट १७.१८ बाट १५.३८ पुगेको उनले जानकारी दिइन् ।
१७ बुँदे उपलब्धि सार्वजनिक गर्दै मन्त्री भुसालले २० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध गराउने निर्णय कार्यान्वयमा आइसकेको सुनाइन् ।विद्युत् आधारभूत आवश्यकताका साथै उत्पादनको साधन हो भन्ने मान्यताका साथ महसुल पुनरवलोकन गरी सिंचाइमा प्रयोग हुने विद्युत्मा ७५ प्रतिशतसम्म सहुलियत दिने गरी प्रतियुनिट २ रुपैयाँसम्म महसुल कायम गरिएको उनले जानकारी दिइन् ।
समग्र विद्युत् महसुल दर घटाइएका कारण गार्हस्थतर्फको विद्युत् खपत वृद्धि भएको भन्दै उनले प्रतिव्यक्ति प्रतिवर्ष विद्युत् खपत ३२५ युनिटबाट बढोत्तरी भई ३५१ पुगेको बताइन् ।
विगत ५ वर्षको विद्युतको वार्षिक औसत खपतदर १८ प्रतिशतको दरले वृद्धि भएको उनले जानकारी दिइन् । देशको करिब ९५ प्रतिशत जनतामा विद्युत् पहुँच पुगेको र ‘स्वदेशी विद्युत् जोडौं, विदेशी ग्यास छोडौं’ अभियानबाट विद्युत् खपतमा वृद्धि भएको मन्त्री भुसालको दाबी छ ।







